कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न घरमै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय छानबिन समितिबारे पुरानै अडान सुनाएका छन् । प्रचण्डभन्दा अगाडि देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका कांग्रेस नेताहरूले सहकारी ठगीमा छानबिन गर्दा गृहमन्त्री रवि लामिछानेको नामसमेत तोकिनुपर्ने मागबाट पछि नहट्न देउवालाई सुझाएका थिए ।
संसदको गतिरोध अन्त्यका लागि सघाउन आग्रह गर्दै घरमै आइपुगेका प्रधानमन्त्रीलाई देउवाले त्यही निर्णय सुनाए । नेताहरूबीच आन्तरिक छलफल भइरहेका बेला प्रचण्ड बुढानीलकण्ठस्थित देउवा निवास छिरेका थिए । देउवासँगको बैठकमा सहभागी नेता जीवन परियारका अनुसार, कांग्रेसले आफ्नो पूववत् अडानमा कायम रहेको सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।
प्रधानमन्त्री प्रचण्डले सहकारीको नाम तोक्ने तर व्यक्तिको नाम नतोक्ने प्रस्तावमा सहमति जनाउन आग्रह गरे पनि देउवलाई त्यसलाई अस्वीकार गरेका कांग्रेसका एक नेताले बताए ।
सरकारले संसदबाटै बजेट ल्याउन चाहेकाले सहज परिस्थिति बनाइदिन प्रचण्डले देउवासँग आग्रह गरेका थिए । कांग्रेसको मागअनुसार संसदीय छानबिन समितिका लागि प्रयासहरू भइरहेको स्मरण प्रचण्डले गराएका थिए । तर, देउवाले प्रतिपक्षलाई अलमल्याउने, पेलेर अघि जान खोज्ने नीति लिएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई व्यक्तिको नाम तोकेरै छानबिन समिति बन्छ भने सहमति हुन्छ, नभए असहमतिको कारक सत्तापक्ष नै हुने जवाफ दिए । फोटो : फाइल