प्रधानमन्त्रीसहित सत्तापक्ष र प्रतिपक्ष नेताहरू छलफलका लागि बालुवाटारमा

 संवाददाता    २०८१, ११ जेष्ठ शुक्रबार १८:०८     103 जनाले पढ़िसके



Spread the love

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटेका छन्।

प्रधानमन्त्री प्रचण्ड, सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे छलफलमा जुटेका हुन्।

उनीहरूबीच बालुवाटारमा शुक्रबार अपराह्नदेखि छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी छैन।

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेको छ। सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भए पनि क्षेत्राधिकारमा कुरा मिलेको छैन।

कांग्रेसले सुप्रिम, सूर्यदर्शनलगायत सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै संलग्नता देखिएको भन्दै छानबिन समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर क्षेत्राधिकार तय गर्नुपर्ने अडान राखेको छ।

तर सत्तापक्षले भने संसदीय समिति बनाउनुपूर्व नै व्यक्तिलाई दोषी करार गर्न नहुने अडान राखेको छ। यही अडानका कारण शुक्रबार बिहानको कार्यदलको छलफल निष्कर्षमा पुग्न सकेको थिएन।