कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

 संवाददाता    ९ जेष्ठ २०८१, बुधबार १२:०६     16 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।

प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ।

मङ्गलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो। उनलाई धनुषा प्रहरीले केही बेर अघि जिल्ला अदालत धनुषामा पेस गरेको हो। आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ।

अदालतले उनीमाथि थप अनुसन्धानका लागि म्याद गप गर्ने वा थुनामुक्त गरी तारिखमा राखेर अनुसन्धान अघि बढाउने भन्नेबारे आदेश गर्नेछ।

मङ्गलबार जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि धनुषा प्रहरीको अनुरोधमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले कार्यालयबाटै पक्राउ गरेको थियो।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।