प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै, संसदीय समिती गठन नभए अवरोध गर्ने कांग्रेसको चेतावनी

 प्रधानमन्त्री     २०८१, ७ जेष्ठ सोमबार ०८:२७     67 जनाले पढ़िसके



Spread the love

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत प्रयोजनका लागि बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

सरकारमा सहभागी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

जसपा नेपाल वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो भने सोही दिन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।

२०७९ साल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि प्रधानमन्त्री दाहालले २०७९ पुस २६ गते र चैत ६ गते तथा २०८० साल फागुन ३० गते विश्वासको मत लिएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासको मतका लागि प्रतिनिधिसभाको कूल संख्याको १३८ मत आवश्यकता पर्दछ ।

यस्तै आफुहरुले उठाएको संसदीय समिति गठन नभए आज विश्वासको मत लिने प्रतिनिधि सभाको कार्यक्रम अवरोध गर्ने नेपाली कांग्रेसले बताएको छ।

रास्वपाको माग अनुरुप गृहमन्त्री लामिछानेले संसदमा हिजो सम्बोधन गरिसकेको हुनाले उनी केन्द्रीत भएर संसदीय छानबिन समिती गठन हुनुपर्ने माग कांग्रेसको छ भने रास्वपा र नेकपा एमाले व्यक्ति केन्द्रीत समिती को विपक्षमा उभिंदा हिजो कानुन मन्त्री संयोजक रहेको वार्ता समिती निष्कर्ष विहिन भएको थियो।