गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम घटेन

 भुकम्प     १२ बैशाख २०८१, बुधबार १०:०१     19 जनाले पढ़िसके



Spread the love

वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । १२ वैशाख २०७२ को मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा ८ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजारभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट ५ लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने २ लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । सो विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइँदैछ ।

अघिल्लो पुस्ताले सुनाउँदै आएको सन् १९९० सालको भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको उक्त विनाशकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ ।

खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रम हुँदैछन् । गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं,  ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।

सो भूकम्पले करिब ७ खर्ब ६ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा भएको छ ।

६ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पार्‍यो । सो भूकम्पबाट १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए ।

सरकारले भूकम्प गएको महिनौँ दिनसम्म पनि पीडिटका लागि राहत सामग्री पुर्याउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रकृया सरकारले अगाडि बढाउन सकेको छैन ।

नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ । काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।