कोशीमा प्रदेश सभा विशेष अधिवेशन आह्वान

 कोशी प्रदेश     २८ चैत्र २०८०, बुधबार २०:५२     27 जनाले पढ़िसके



Spread the love

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार वैशाख ६ गतेका लागि प्रदेश सभा विशेष अधिवेशन आह्वान गरेका हुन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरूले विशेष अधिवेशन आह्वान माग गर्दै गत सोमबार समावेदन गरेका थिए।

प्रदेश सभाको एक चौथाइभन्दा बढी सदस्यले विशेष अधिवेशन माग गर्दै समावेदन गरेका थिए। बुधबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा ३ अनुसार वैशाख ६ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका हुन्।

मुख्यमन्त्री केदार कार्कीले भने गत चैत २६ गते प्रदेश प्रमुख समक्ष जेठ ११ गते प्रदेश सभा अधिवेशन बोलाउन सिफारिस गरेका थिए। सरकारले गरेको सिफारिसभन्दा अघि नै दर्ता भएको समावेदनअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।

एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन सोमबार फिर्ता लिएका थिए भने माओवादी मन्त्रीले पदबाट राजीनामा दिएका थिए।

विशेष अधिवेशनमा मुख्यमन्त्री अल्पमतमा पर्ने र उनले कि राजीनामा कि विश्वासको मत लिने अपेक्षा गठबन्धनको छ। मुख्यमन्त्री कार्कीले भने संविधानअनुसार सरकार बन्ने अन्तिम धाराबमोजिम सरकार भएकाले पदबाट राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने बताउँदै आएका छन्।

गत असोज २७ मा कार्की मुख्यमन्त्री बनेका थिए।