काठमाडौं: शहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा काठमाडौं उपत्यकाको ट्राफिक जाम, विकास निर्माण र फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको छ ।
मन्त्री बुढा र मेयर बालेनबीचको भेटवार्तामा ‘पोड वे’ को सम्भाव्यताबारेमा छलफल भएको छ ।
काठमाडौंको ट्राफिक जामलाई कम गर्न नयाँ प्रविधि ‘पोड वे’ को सम्भाव्यताबारे समेत मन्त्री बुढाले चासो राखेका थिए ।
मेयर बालेनले विकसित मुलुकहरुमा समेत पोड-वे सफल भएको भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।
भेटवार्तामा मेयर साहले काठमाडौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे ।
काठमाडौं उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा फ्लाइओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठूलो राहत हुने मेयर बालेनले छलफलमा बताए ।