सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमवार आदेश दिएको छ। उनले लामो समयदेखि झापामा स्थापित बी एन्ड सी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्यापन गर्न विश्वविद्यालयको सम्बन्धन माग्दै आएका थिए।
“दुर्गा प्रसाईँको निवेदन मागबमोजिम रिट जारी हुने ठहर भएको छ,” अदालतका प्रवक्ताले भने।
फैसलाको पूर्णपाठ आउन भने बाँकी छ।
बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन माग गरिएको मुद्दामा न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आदेश दिएको हो।
यसअघि उनको मापदण्ड पूरा नगरेका मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा गोविन्द केसीले आमरण अनशन गर्दै आएका थिए।
तर प्रसाईँले आफूले सरकारी आशयपत्रबमोजिम काम गरेको भए पनि कलेज सञ्चालन गर्न नपाएको भन्दै चिकित्सा शिक्षा आयोग र काठमाण्डू विश्वविद्यालयसहित विभिन्न निकायलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए।