नेपाल जस्तो मुलुकमा संसद् अवरुद्ध हुनै हुँदैन : प्राध्यापक सूर्य सुवेदी

 प्रधानमन्त्री     ३ चैत्र २०८०, शनिबार १५:४०     22 जनाले पढ़िसके



Spread the love

काठमाडौं- प्राध्यापक सूर्य सुवेदीले नेपाल जस्तो मुलुकमा संसद् अवरुद्ध हुन नहुने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘प्रा सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तक विमोचन कार्यक्रममा उनले संसद् अवरुद्ध गरिने प्रचलनको विपक्षमा मत राखेका हुन्।

‘संसदीय प्रणालीलाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने चुनौती राजनीतिक नेताहरूसँग छ। नेपालमा संसद् चलिरहेको बेलामा अवरुद्ध गर्ने भनिन्छ। यदि बेलायत प्रजातन्त्रको जननी हो भने त्यहाँको अभ्यास हामीले हेर्नुपर्छ। त्यहाँ संसद् कहिल्यै अवरुद्ध हुँदैन। सरकारको विरोध गर्न पाइएकै छ भने किन संसद् अवरुद्ध गर्ने? नेपाल जस्तो देशमा त संसद् अवरुद्ध हुनै हुँदैन’, उनको भनाइ थियो।

सुवेदीले थपे, ‘यति धेरै कानुन बन्नुपर्ने छ। यति धेरै विकास गर्नुपर्ने छ। जनतालाई यति धेरै सशक्तीकरण गर्नुपर्ने छ। हाम्रोमा संसद् अवरुद्ध गर्ने कुरा कहाँबाट आयो? यसलाई प्रजातान्त्रिक अभ्यास भन्छन् तर म त्यस्तो ठान्दिनँ।’

सुवेदीले नेपालको संविधानलाई समय सापेक्ष संशोधन गर्नुपर्ने बताए। उनले संविधानको अन्तरआत्मा ठीक भए पनि त्यसमा सुधार आवश्यक रहेको बताएका हुन्। ‘त्यसका लागि यहाँ (राजनीतिक नेतृत्व)ले नेतृत्व गर्नुहुन्छ र हामी जस्ता मान्छेको सहयोग आवश्यक छ। म सधैं सहयोग गर्न तत्पर छु’, उनले भने।