सुन तस्करीमा संलग्न जो कोही भएपनी कारवाही गर्न लामिछानेलाई दाहालको निर्देशन

 प्रधानमन्त्री     २ चैत्र २०८०, शुक्रबार १३:२६     29 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा संलग्न जोकोहीलाई कारबाही गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री प्रचण्डले त्यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको मुख्य प्राथमिकता सुशासन रहेकाले कानुनी रूपमा दोषी देखिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन भएको जानकारी दिए ।

जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले आयोगको अध्ययनबाट दोषी देखिएका र कारबाहीको सिफारिस भएकाहरूलाई कारबाहीअघि बढाउन निर्देशन दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले बतायो ।

प्रधानमन्त्रीले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा तत्काल काम अगाडि बढाउन पनि निर्देशन दिएका छन् । त्यसलगत्तै गृहमन्त्रीले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको सचिवालयले जनाएको छ ।