विवादबीच नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिकोे बैठक बस्दै

 नागरिक उन्मुक्ति पार्टी     २८ फाल्गुन २०८०, सोमबार ११:३४     20 जनाले पढ़िसके



Spread the love

बढ्दो विवादबीच नागरिक उन्मुक्ति पार्टीको संस्थापक केन्द्रीय समितिकोे बैठक आज बस्ने भएको छ । रेशमलाल चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिएपछि रञ्जिता श्रेष्ठको अध्यक्षतामा सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

अल्पमतमा परेको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाउने निर्णयले नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ । पार्टी संरक्षक रेशमलाल चौधरीको अगुवाइमा प्रदेश सरकारमा मन्त्री पठाउने कार्यको विरोधमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी देखिएकी हुन् । यही विवादले नागरिक उन्मुक्तिका सांसदहरू दुई समूहमा विभाजित भएका छन् ।

रेशम चौधरी केन्द्रमा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमलबहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा थिए । रञ्जिता भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रहेकाले दुुवैबीचको अन्तरविरोध उत्कर्षमा पुुगेको हो।

रेशम पक्षका दुुई प्रदेशसभा सदस्यले शुक्रबार राति मन्त्री र एकजनाले राज्यमन्त्रीको शपथ खाएका छन् । रञ्जितानजिक मानिएका कैलाश चौधरीलाई भने राज्यमन्त्रीबाट पनि हटाइएको छ। उनी शुक्रबारसम्म भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए।

पार्टीमा शिर्ष मानिएका लक्ष्मणकिशोर चौधरीलाई पनि कुनै मन्त्रालय दिइएको छैन । अहिले पद नपाएका तीन प्रदेशसभा सदस्यमध्ये लक्ष्मण किशोर र कैलाश चौधरी काठमाडौंमा छन् भने टीका थापा भारतमा रहेको बताइएको छ । लक्ष्मण किशोर र कैलाश दुुवै जना रञ्जिताका विश्वास पात्रका रुपमा रहेका छन् । रेशम र रञ्जिता पति/पत्नी हुन्।