नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ।
माओवादी केन्द्रको बालुवाटारमा सोमबार बसेको पदाधिकारी बैठकमा नयाँ गठबन्धनअनुसार संघीय सरकार र प्रदेश सरकार गठन गर्ने बम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीलाई जानकारी गराएका थिए।
माओवादीका सचिव देवेन्द्र पौडेलले नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको बताए।
‘नयाँ शिराबाट मन्त्रिपरिषद पुनर्गठन गर्छौं। राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पनि नयाँ शिराबाट छलफल गरी अघि बढाउँछौं। त्यति मात्र होइन, प्रदेशहरूमा पनि आलोपालोका आधारमा हामी अगाडि बढाउँछौं। त्यसका लागि बालुवाटारमै माओवादी, एमाले र रास्वपासहितको बैठक बस्दैछ,’ उनले भने।