नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको : प्रचण्ड

 प्रधानमन्त्री     १९ फाल्गुन २०८०, शनिबार १५:५६     23 जनाले पढ़िसके



Spread the love

दाङ,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी नेतृत्व नै शान्तिको महत्त्वलाई गहिरो गरी बुझ्ने भएकाले त्यसलाई मनन गर्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशनमा आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको रहेको बताए ।

“हामीले गौरव गर्नुपर्छ । नेपालको राजनीतिक इतिहासमा हामी मात्रै त्यस्तो शक्ति र नेतृत्व हौँ, जसले क्रान्ति र शान्ति दुवैको नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले मैले भन्ने गरेको छु– जसले क्रान्तिको नेतृत्व गर्दछ, शान्तिको आवश्यकता र महत्त्व पनि त्यसले नै सबैभन्दा बढी बुझ्न सक्छ ।”

प्रधानमन्त्री प्रचण्डले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्य भूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन सुरु गर्ने स्थान पनि भएको बताए ।

“विश्वशान्तिका अग्रदूत गौतम वुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्य भूमिका रूपमा मात्रै परिचित नभएर क्रान्तिकारी आन्दोलन नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित छ,” प्रधानमन्त्रीले भने, “क्रान्ति र शान्तिको सम्मिश्रणको सबैभन्दा राम्रो दृष्टान्त लुम्बिनी नै हो ।”