काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन शुक्रवार चितवन पुगेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्ष पदको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका छन ।
फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका बेला सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रष्ट पारेका छन ।
भरतपुर विमानस्थलमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीले गठबन्धन बारे गरेको प्रश्नमा देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन,कति भन्नु भनिसकेँ त मैले ?’ सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क रहेको बताए। ‘गठबन्धन निरन्तर जान्छ । ढुक्क भए हुन्छ’, देउवाले भने ।
देउवाले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भइनसकेको भन्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताए ।