सूर्यदर्शन सहकारी ठगी प्रकरण : लामिछानेमाथि पनि अनुसन्धान

 रास्ट्रीय स्वतन्त्र पार्टी     ९ फाल्गुन २०८०, बुधबार ०८:१२     47 जनाले पढ़िसके



Spread the love

पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ।

सहकारी ठगीसम्बन्धी सबै कागजात झिकाएर अध्ययन–अनुसन्धान गरिरहेको सिआइबीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रालयमै बोलाएर रविमाथि पनि अनुसन्धान थाल्न निर्देशन दिएका थिए।

निर्देशन पाएलगत्तै बज्राचार्यले विभिन्न सरकारी निकायसँग परामर्श थालिसकेकी छन्। सिआइबी स्रोतका अनुसार एआइजी बज्राचार्यले सुरुमा प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चपदस्थ कर्मचारीसँग परामर्श गरेकी थिइन्। त्यसपछि उनले प्रधानमन्त्री दाहालसँग पनि परामर्श लिएकी थिइन्। ‘यो अनुसन्धान प्रधानमन्त्रीसँगको छलफलपछि अघि बढेको हो। परिणाम निकाल्ने गरी सिआइबी अनुसन्धानमा जुटेको छ,’ स्रोतले भन्यो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए। त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन्। सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो। यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो। आजको नागरिक दैनिकमा यो समाचार छ