इच्छाराज दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतको फैसला

 #अपराध     २२ माघ २०८०, सोमबार ०८:२८     32 जनाले पढ़िसके



Spread the love

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक तामाङलाई ३ वर्ष कैद सजाय निर्धारण गर्दै विशेषले उनी र उनको परिवारको नाममा रहेको सम्पत्ति पनि जफत हुने निर्णय गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार इच्छाराजलाई ३ वर्ष र पत्नी सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय पनि निर्धारण गरेको छ ।

विशेषले इच्छाराज तामाङ, सृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सबै सम्पत्ति जफत हुने फैसला पनि सुनाएको छ । अब यी प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दाको कसुर ठहर भएमा पीडितहरूको बिगो भराउने कार्यले प्राथमिकता पाउने पनि विशेषले निर्णय दिएको छ ।

इच्छाराजलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ को दफा ३०(१) (क) बमोजिम विगो १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ पैसा बराबर जरिवाना र ३ वर्ष कैद निर्धारण भएको छ।

उनकी पत्नी सृजना शाक्य तामाङलाई पनि त्यही दफा बमोजिम बिगो १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ १० पैसा बराबर जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर भएको छ । उता प्रतिवादी केशवलाल श्रेष्ठको हकमा सोही कानुन बमोजिम बिगो २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ बराबर जरिवाना र १ वर्ष ६ महिना कैद हुने ठहर विशेषले गरेको छ ।

यसअघि गत माघ ७ गते इच्छाराज र पत्नी सृजनासहितलाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको थियो । आइतबार सजाय निर्धारण गर्न बसेको इजलासले उक्त निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । नेकपा एमालेका पूर्वसांसद्समेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी ०७९ भदौ १६ गते मुद्दा चलाइएको थियो।