आजदेखि संसद्को हिउँदे अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

 #प्रतिनिधी सभा वैठक     २२ माघ २०८०, सोमबार ०७:१७     24 जनाले पढ़िसके



Spread the love

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आज (सोमवार)देखि शुरू हुँदैछ । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशनको पहिलो बैठक आज बेलुका ४ बजे बोलाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गरेका हुन् ।

हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

आज पहिलो दिनको बैठकमा यसअघिका अधिवेशनजस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षबाट स्वागतसहितको शुभकामना तथा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिने छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।

यस्तो छ सम्भावित कार्यसूची 

विधेयक अधिवेशनकारूपमा रहने हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४  विधेयक छन् । त्यसमध्ये १६ विषयगत समिति छन् । हाल १५ विधेयकमाथि दफावार छलफल भइरहेको छ । एउटा  भने छलफल पुरा भई प्रतिवेदन निर्माणको चरणमा छ । एउटा विधेयक लामो समयदेखि राष्ट्रियसभामा थाँती छ ।

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारूपमा रहने सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।

अधिवेशनमा प्री बजेट छलफलसमेत हुने सहायक प्रवक्ता धमलाले जानकारी दिए । सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै उक्त कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ । उक्त अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ ।

अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा  निरर्थक बन्दै आएको थियो । त्यस बेला सांसदले  दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यस पटक प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो ।