राष्ट्रिय सभा निर्वाचन: मतदान सातै प्रदेशमा अन्तिम चरणमा

 राष्ट्रिय सभा निर्वाचन     ११ माघ २०८०, बिहीबार १५:१५     29 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबार सातै प्रदेशका मतदान केन्द्रहरूमा मतदान भएको छ।

१९ सिटका लागि विभिन्न ८ दलबाट ५१ जना चुनावी मैदानमा छन्।

बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ। प्रदेशहरूमा मतदान अन्तिम चरणमा पुगेको छ।

कोशी प्रदेशमा मतदान सकिएको छ। कोशीका निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार प्रदेश सभा सदस्य सबैले मतदान गरिसकेका छन्। यहाँ ९३ जना प्रदेश सभा सदस्य छन्। कोशीका स्थानीय तहका २७३ मध्ये २७१ जनाले मतदान गरेको उनले बताए।

लुम्बिनी प्रदेशमा मतदान अन्तिम चरणमा पुगेको छ। १० भोट खस्न बाँकी रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल १०९  स्थानीय तहका २१८ जना प्रमुख-उपप्रमुख र ८७ जना प्रदेश सभा सदस्यसमेत गरी कुल ३०५ जना मतदाता छन्।

कर्णाली प्रदेशका १९६ जना मतदाताले नै मतदानमा सहभागी भएको सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलले जानकारी दिए। स्थानीय तहका १५८ जना मतदाता भए पनि एउटा गाउँपालिकाका अध्यक्ष र एउटा नगरपालिकाका उपमेयरको मृत्यु भएको थियो।

कर्णाली प्रदेश सभाबाट चुनिने तीन जना राष्ट्रिय सभा सदस्यका लागि ६ जनाको उम्मेदवारी छ।

गण्डकी प्रदेशमा पनि मतदान अन्तिम चरणमा पुगेको छ। एक जनाले मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृत ऋषिराम आचार्यले बताए। प्रदेश सभा सदस्यतर्फ सबैले मतदान गरेको र पालिकातर्फका एक जनाले मात्रै मतदान गर्न बाँकी रहेको उनले बताए।

गण्डकी प्रदेशमा ६० जना सांसद छन् भने ८५ वटा स्थानीय तह छन्।

साथै बागमती प्रदेशमा ६ जनाले मात्रै मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृत श्रीप्रसाद संजेलले बताए। स्थानीय तह तर्फबाट चार जना र प्रदेश सभा सदस्य दुई जनाले मतदान गर्न बाँकी रहेको उनले बताए।

मधेस प्रदेशमा प्रदेश सभाका एक र स्थानीय तहका १ गरी कूल २ जनाले मतदान गर्न बाँकी छ। सुदूरपश्चिम प्रदेशमा ९० प्रतिशत मतदाताले मत खसाइसकेका छन्।

प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ मतदाता छन्।

आजै मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ।