भारतले २० करोडसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन : प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री     २० पुष २०८०, शुक्रबार ११:४२     29 जनाले पढ़िसके



Spread the love

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने भनिएको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने दाबी गरेका छन् ।

शुक्रबार बिहान राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो । तर, उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन लागिनेछ ।’

समितिको बैठकमा नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतसँग भएको सहमतिप्रति आपत्ति जनाए । पन्तले यसरी आफूखुसी खर्च गर्न दिने प्रवृत्ति नेपालको स्वतन्त्रता र सार्वभौमिकता विरुद्ध रहेको तथा यसले देशभित्र अवाञ्छित राजनीतिक प्रभाव र हस्तक्षेपलाई निम्त्याउने बताए । उनले यसमा नेपालले पुनर्विचार गर्नुपर्ने माग गरेका छन् ।

बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो ।