हमासको आक्रमणमा इजरायलमा मारिएका १० नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँ निकासा

 संवाददाता    ५ पुष २०८०, बिहीबार २०:०३     36 जनाले पढ़िसके



Spread the love

इजरायलमा गत असोज २० गते भएको हमासको आक्रमणमा मारिएका १० जना नेपालीका परिवारलाई सरकारले जनही १० लाख रुपैयाँका दरले निकासा गरेको छ।

मन्त्रिपरिषद्को असोज २२ गते बसेको बैठकको निर्णयअनुसार अर्थमन्त्रालयले मारिएका १० नेपालीका परिवारलाई जनही १० लाख रुपैयाँका दरले एक करोड रुपैयाँ निकासा गरेको हो।

हमासले इजरायलको दक्षिण किबुज अुलिमममा आक्रमण गर्दा १० जना नेपालीले ज्यान गुमाएका थिए। जसमा सुदूरपश्चिमबाट कृषि अध्ययनका लागि गएकाहरू अधिकांश थिए। मृतकका परिवारका लागि उपलब्ध गराइएको रकम अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उपलब्ध गराउने छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी थिए।