एनसेलको विक्री भएको शेयर दर्ता नगर्न उच्च अदालतको आदेश

 एनसेल     २१ मंसिर २०८०, बिहीबार १९:३९     34 जनाले पढ़िसके



Spread the love

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विक्री भएको शेयर दर्ता नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले आज एनसेलका विक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा उक्त आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘मङ्सिर २५ गतेसम्मका लागि खरीद विक्री भएका एनसेलका शेयरहरू दर्ता किताबमा दर्ता नगर्नू÷नगराउनू भनी विपक्षीहरूका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

अदालतले उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २५ गते बोलाएको छ । उक्त छलफलपछि अदालतले अन्तरकालीन अन्तरिम आदेशलाई जारी राख्ने वा अन्य आदेश जारी गर्ने भन्ने निर्णय गर्नेछ ।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिसलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई विक्री गरेको थियो । उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले शेयर खरीद–विक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए ।