दुर्गा प्रसाईंको आन्दोलन आजबाट तीनकुने केन्द्रित हुने

 दुर्गा प्रसाई     ८ मंसिर २०८०, शुक्रबार ०७:३३     57 जनाले पढ़िसके



Spread the love

काठमाडौं,  मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज शुक्रबारबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएको छ ।

हिजो पहिलो दिन बल्खुमा प्रदर्शन गरेको प्रसाईं समूहले आज तीनकुने केन्द्रित प्रदर्शन गर्न लागेको हो ।

बल्खुमा प्रदर्शन पछि पत्रकार सम्मेलन गर्दै प्रसाईंले शुक्रबारबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने घोषणा गरे । ‘व्यवस्था परिवर्तन नभएसम्मका लागि हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उनले भनेका छन् ।

हिजो पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं समूहले र्‍याली निकालेको थियो । उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बल्खुमा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा केही प्रदर्शनकारी र ३० जना बढी प्रहरी पनि घाइते भएका थिए ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास र पानीको फोहोरासमेत हानेको थियो ।