७ मङ्सिरमा दुर्गा प्रसाईँ र महेश बस्नेत दुवैको आन्दोलन माइतीघर मण्डलामा नहुने, प्रशासनले दिएन अनुमती

 एमाले     ४ मंसिर २०८०, सोमबार १६:५९     43 जनाले पढ़िसके



Spread the love

काठमाण्डु, ४ मंसिर– ७ मङ्सिरमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र प्रमुख प्रतिपक्षी दल एमाले निकट् राष्ट्रिय युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा नहुने भएको छ ।

प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाण्डुका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिएका छन ।

दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुसँग अनुमति मागेका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।

दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले जानकारी दिएका छन । उनले भने–‘आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्छौँ ।’

जिल्ला प्रशासन कार्यालय काठमाण्डुले युवा सङ्घलाई काठमाण्डुको तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिन सकिने जानकारी गराएको छ । युवा संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठ भन्छन्–‘तीनकुनेमा कार्यक्रम गर्ने कुरामा हाम्रो सहमति रहन्छ, प्रमुख जिल्ला अधिकारीसँग त्यसबारे छलफल भएको छ ।’