उर्लाबारी आगलागीका ६ घाइतेको अवस्था गम्भीर, थप उपचारका लागि अमेरिकाबाट चिकित्सक बोलाइँदै

 संवाददाता    १ मंसिर २०८०, शुक्रबार १६:०१     38 जनाले पढ़िसके



Spread the love

काठमाडौँ– मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

शुक्रबार घाइतेहरूको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सकहरूले यस्तो जानकारी गराएका हुन्।

उपचाररत २५ जनामध्ये ६ को अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा. निजिना ताम्राकारले बताइन्। जलनको घटनामा सबै घाइतेहरूको अवस्था गम्भीर नै हुने उनको भनाइ छ।

“बर्न केसमा यति समय भन्न नै सकिँदैन, सबै चिकित्सकहरू काममा लागिरहनुभएको छ। यसको बेटर म्यानेजमेन्ट गर्नेछौँ। ६ जनाको अवस्था क्रिटिकल्ली छ,” उनले भनिन्।

घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर उपचार गराउने प्रक्रिया शुरू गरिएको बताए। उनले अमेरिकाबाट आइतबारसम्म चिकित्सक आइसक्ने थप उपचार थालिने जानकारी गराए।

उनले सरकारले घाइतेको जीवनरक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने प्रतिबद्धता जनाए। “५/६ जना बिरामीको उपचार थप जटिल छ भन्नुभएको छ, आइतबार अमेरिकाबाट थप डाक्टर मगाएर उपचार गर्ने जानकारी भएको छ। सरकारले जीवनरक्षाका लागि आवश्यक काम गर्नेछ,” उनले भने।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो।