यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

 प्रधानमन्त्री     २३ कार्तिक २०८०, बिहीबार १५:३३     43 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले पहिलोपटक पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

बैठकले सनिल नेपाललाई राजदूत नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित ३ रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने भएको छ ।

त्यस्तै आजको बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको एक महिना बराबरको तलब भूकम्प प्रभावितहरुलाई उपलब्ध गराउनेसहित ८ निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का ८ निर्णय :

१. प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक उपलब्ध गराउने ।
२. इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।

३. नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने ।
४. मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने ।
५. निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।
६. पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत नियुक्त गर्ने ।

७. मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने ।
८. मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गर्ने ।