इजरायलमा ज्यान गुमाएका १० जनाकै शव नेपाल आइपुग्यो

 संवाददाता    १९ कार्तिक २०८०, आईतवार १८:१०     33 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – इजरायलमा हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

गए राति फ्लाई दुबईको विमानमार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै ज्यान गुमाएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए । इजरायलमा अहिलेलाई उद्धार कार्य सकिएको र बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको उनले बताए ।

गएको असोज २० गते इजरायलकाे विद्राेही समूह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्याे आक्रमणमा परि ज्यान गुमाएका लामीखाल–८ का थापासहित सल्यान शारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, र कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ जना विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।