भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

 #अपराध     १९ कार्तिक २०८०, आईतवार १७:२७     39 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरेको छ ।

आज उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाण्डाैका विभिन्न ठाउँबाट नाै जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, ‘प्लस टु’ को नक्कली सर्टिफिकेट, नक्कली नाता प्रमाणित प्रतिलिपि प्रतिवेदनका आधारमा अनुसन्धानबाट १० जना पक्राउ परेका जानकारी दिए । उनले नवलपुरकाे मध्यविन्दु नगरपालिका घर भएका जयराम श्रेष्ठले नक्कली कागजात बनाउने काम गरेको बताए ।

पक्राउ पर्नेहरूमा श्रेष्ठसहित गोर्खाका भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाण्डाैका साईरस विशंखे, दीपक केसी र सल्यानका बलबहादुर रहेका छन् । एसएसपी राठाैरले अनुसन्धानका क्रममा एक जना प्रहरी उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको बताए। गिरोहले भिजिट भिषामा नक्कली कागजातमा पठाउने विषयमा कतिपय मानिसलाई थाहा समेत नभएको उनकाे भनाइ छ ।

प्रहरीले उनीहरूकाे साथबाट दुई सय ९६ वटा नक्कली कागजात बरामद गरेको छ । पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजात बनाउन ‘अर्डर’ दिने र प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेकाे छ ।