एनआरएनए विवाद चरम उत्कर्षमा, दुबै पक्षले हाले प्रहरीमा उजुरी

 एनआरएन     १५ कार्तिक २०८०, बुधबार १३:१३     49 जनाले पढ़िसके



Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद प्रहरीसमक्ष पुगेको छ । एनआरएनए कार्यालयमा भएको कुटपिटको घटनापछि दुबै पक्ष प्रहरीमा पुगेको हो । समानान्तर समितिका अध्यक्ष आरके शर्माले संस्थापन पक्षका अध्यक्ष बद्री केसीलगायतविरुद्ध उजुरी दिएको भोलिपल्ट बुधबार केसी पनि उजुरी बोकेर प्रहरी वृत्त दरबारमार्ग पुगेका हुन् ।

केसीले प्रहरी वृत्त दरबारमार्गमा छुट्टाछुट्टै तीन वटा विषयमा कारबाहीको माग गर्दै उजुरी दिएका छन् । जसमा जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, अभद्र व्यवहार र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरमा कारबाही गर्न माग गरिएको छ ।

‘संघको कार्यालयमा हुलदङ्गा गर्ने कार्य गरेका हुँदा निजहरू र निजहरूसँग उपस्थित भई पहिचान हुन नसकेका व्यक्तिहरूलाई संघको र नेपाल राष्ट्र बैंकको सिसिटिभी क्यामेराको फुटेजबाट पहिचान गरी कानुनी कारबाही गरि पाउन समेत सादर अनुरोध गर्दछौं’, निवेदनमा भनिएको छ, ‘निजहरुलाई कुनै पनि कानुनी कारबाही नभएमा निजहरूले संघका पदाधिकारीहरुको जीउ ज्यान र सम्पत्ति एवं संघको सम्पत्तिको तोडफोड र हानि नोक्सानी पुरÞ्याउने प्रवल सम्भावना भएको हुँदा निजहरुलाई जीउ, ज्यान र सम्पत्तिको शान्ति सुरक्षा उपरको कसुर, अभद्र व्यवहारको कसुर र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठा विरुद्धको कसुर उपर कानुनी कारबाही गरी पाउन तहाँ समक्ष अनुरोध गर्दछौं ।’

त्यस्तै आरके शर्मासहितले मंगलबार नै प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका थिए । आरके शर्मासहित गंगाधर गौतम, बुद्धि सुवेदी र ठाकुर ढुंगानाले दिएको उजुरीमा एनआरनए कार्यालयमा भएको कुटपिट सम्बन्धमा आवश्यक छानबिन गरी शान्ति सुरक्षाका साथै सीसी क्यामेरा फुटेज सुरक्षित गराउन निवेदनमार्फत आग्रह गरिएको छ ।