सर्लाहीमा सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

 चाडपर्व     ८ कार्तिक २०८०, बुधबार १७:४०     46 जनाले पढ़िसके



Spread the love

सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ।

विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन्न भई साम्प्रदायिक दंगा भड्किएपछि विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

यस वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए। मूर्ति विसर्जनमा यस वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो।

विगतका वर्षमा दुर्गाजीको मूर्ति मार्गमा घुमाउन सुरक्षाकर्मीले दिएनन्। यसमा आपत्ति जनाउँदै अधिकांश सर्वसाधारण मूर्ति विर्सजनमा सहभागी नभएको स्थानीय सुधीर शर्माले जानकारी दिए। यसअघि मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो।

मार्गबारे विवाद भएपछि मलंगवाको जिल्ला विकास चोकको मूर्ति विसर्जन गर्न सर्वसाधारण नआएर ढिलाइ भएको मेला व्यवस्थापन समितिका अध्यक्ष पंकज कर्णले जानकारी दिए। मलंगवाको जिल्ला विकास चोकको मूर्ति विसर्जनका लागि सहजीकरण भइरहेको प्रहरीले जनाएको छ।