नेपालगञ्जमा फेरि निषेधाज्ञा र कर्फ्यु, शनिबार बिहानसम्म कायम रहने

 कर्फ्यु     १९ आश्विन २०८०, शुक्रबार ११:५७     73 जनाले पढ़िसके



Spread the love

नेपालगञ्जमा फेरि निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि निषेधाज्ञा र कर्फ्यु लगाएको हो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्रबार) बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगंज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

उनका अनुसार उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका)का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टास्न वा लेख्न नपाइने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै राति ८ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र चार किल्ला तोकि कर्फ्यू आदेश जारी गरिएको छ ।

यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न मंगलबार दिउँसो १  बजेबाट लगाएको कर्फ्यु  बिहीबार बिहानबाट दिनभरिका लागि कर्फ्यु हटाएको थियो ।

बिहीबार बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि  कर्फ्यु हटाएको  थियो । बिहीबार राति ८ बजे देखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यु यथावत् राखेको थियो ।

सामाजिक सञ्जालमा आएका विषयलाई लिएर हिन्दु र मुस्लिमबीच सद्भाव भड्किँदा नेपालगन्ज तनावग्रस्त बनेको छ ।

null