चेतन हत्याका अभियुक्त रिगलको आममाफीको विरोधमा चेतनकी श्रीमती भारती अनशनमा

 #अपराध     १७ आश्विन २०८०, बुधबार १४:४९     67 जनाले पढ़िसके



Spread the love

बाँकेका योगराज ढकाल (रिगल) लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्।

भारतीले बुधबार बिहानदेखि माइतीघर मण्डलमा अनशन सुरू गरेकी हुन्। उनले श्रीमानको हत्या गर्नेलाई पुन: जेलमा पठाउनुपर्ने बताइन्।

‘हत्यारालाई फेरि जेल चलान गर्नुपर्छ,’ उनले भनिन्, ‘यो विषय सरकारले देखेर पनि नदेखेजस्तो नगरोस्। बीचमै हत्यारालाई आममाफी दिँदा यस्ता हत्यारा अरू पनि जन्मिन्छन्। राजनीतिक शक्ति दुरूपयोग गर्दै हत्याराहरू अघि बढ्न सक्छन्,’ उनले भनिन्।

भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।

०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको  कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

रिगलको आममाफीबारे केपी ओलीले पनि असन्तुष्टि पोखेका छन। चेतन उनकै पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँके अन्तर्गतकै एक सदस्य थिए।

अरुले यो घटनाको बिरोध गर्न मिल्छ तर स्वयं उज्जैन श्रेष्ठ हत्या आरोपमा जेल बसेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर विद्यादेवी भण्डारीका पालामा छुटाउने काम उनै केपी ओलीले गरेका थिए।

आज उनै ओलीले कानुन र शासनको दुहाई दिंदा अलि मिल्दैन कि भन्ने आम समाजलाई लागेको छ। यद्दपी रिगल आममाफी घटना गलत भन्नेमा कुनै दुइमत छैन तर ओलिको नैतिकताले भने यो कुराको वकालत गर्न अलि सुहाउंदैन किनकि उनी त्यस्तै प्रकृतिको हत्यारा छुटाउने काममा संलग्न भइसकेका छन। राजनैतीक नाफा घाटा हेरेर जनता उचाल्ने यस्ता नेता प्रवृत्तिसंग सिंगो नेपाली जनता सचेत हुन जरुरी छ।