कांग्रेसका मन्त्री फिर्ता बोलाएर सरकार समाजवादी मोर्चालाई चलाउन दिन गगनको प्रस्ताव

 काँग्रेस     १४ आश्विन २०८०, आईतवार २१:४१     34 जनाले पढ़िसके



Spread the love

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गठबन्धनले नयाँ संस्कृति अभ्यास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। नेपाली कांग्रेस रुपान्तरण अभियान बाग्मतीले आइतबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा थापाले अहिले समाजवादी मोर्चालाई सरकार चलाउन जिम्मा दिनुपर्ने प्रस्ताव अघि सारेका हुन्।

‘चुनावपछाडि पनि गठबन्धन हुन सक्छ। गठबन्धनको बारेमा नयाँ कल्चरको अभ्यास गरौं। जस्तो अहिले माओवादी जसपा एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ,’ थापाले भने, ‘दुईअढाई वर्ष सरकार चलाउने कुरा गर्नुभएको छ। पहिले प्रचण्ड त्यसपछि माधव नेपाल बन्ने कुरा गर्नुभएको छ। उहाँहरुको एउटै मोर्चा छ। यो अढाई वर्ष मोर्चालाई चलाउन दिउँ।’

सरकारको कामबारे जनताले थाहा पाउन अहिले सरकारबाट कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाउनुपर्नेसमेत उनले बताए। ‘मलाई लाग्छ कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउँ। दुई अढाई वर्ष मोर्चालाई चलाउन दिउँ। हामी चुप लागेर बसौं न,’ थापाले भने। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री सहभागी छन्।

समाजवादी मोर्चाको पालो सकिएपछि कांग्रेस एक्लैले सरकार चलाउनुपर्नेसमेत गगनले बताए। ‘उहाँहरु भन्नुहुन्छ सुशासन हामीले ल्याउन खोजेका थियौ। देशले पनि थाहा पाओस् न। यो अढाई वर्ष मोर्चालाई चलाउन दिउँ। प्रचण्डजी पछि माधव नेपाल प्रधानमन्त्री हुने कुरा छ। त्यसो हो भने हामीले फ्लोरबाट समर्थन गरौं। उहाँहरुले चलाउनुहुन्छ। त्यसपछिको दुई अढाई वर्ष कांग्रेस एक्लैले चलाउँ,’ थापाले भने, ‘एक्लै चलाउँदा जस पनि कांग्रेसले लिन्छ। अपजस पनि कांग्रेसले लिन्छ।’ फोटो : फाइल