काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताएका छन् । ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको लागि शुभकामना पनि व्यक्त गरेका छन् ।
आजको यस दिवसको अवसरमा नेपाल सरकार,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीयतहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस धूमधामका साथ मनाउन लागेको जानकारी पाउँदा मलाई अत्यन्त खुसी लागेको छ, उनले शुभकामना सन्देशमा भनेका छन् ।
उनले भने, ‘ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछन् । उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके देशको आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सहृदयता कायम गर्न ठुलो सहयोग मिल्नेछ ।’
संयुक्त राष्ट्र सङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ।