एमाले बाग्मती प्रदेशको नेतृत्व चयनका लागि मतदान जारी

 एमाले     १२ आश्विन २०८०, शुक्रबार १६:३६     50 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा विद्युतीय मेशिनबाट मतदान भइरहेको हो ।

प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल उम्मेदवार हुनुहुन्छ । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले पनि उम्मेदवारी दर्ता गराए पनि उनीहरूले पछि फिर्ता लिएकाले दुई जनाबीच मात्र अध्यक्षमा प्रतिस्पर्धा भइरहेको हो ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिव पदमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिस्पर्धामा भइरहेको छ ।

गएको ८ गते शुरु भएको एमालेको प्रदेश अधिवेशन असोज १० गतेसम्म चल्ने तय भएको थियो । तर प्रदेश नेतृत्वका लागि सहमति जुट्न नसक्दा दुई दिन लम्बिएको हो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । अधिवेशनमा एक हजार एक सय ७४ प्रतिनिधि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व टुङ्गो लगाउन निर्देशन दिए पनि सहमतिको प्रयास विफल भएपछि चुनाव गरिएको हो ।