सरकार तस्कार र अपराधीको संरक्षण गर्दैछ : ओली

 एमाले     १२ आश्विन २०८०, शुक्रबार १४:५३     45 जनाले पढ़िसके



Spread the love

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन्।

पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन पुगेका ओलीले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे।

‘यो अपराध संरक्षण गर्ने सरकार हो,’ उनले भने, ‘यो तस्कर संरक्षण गर्ने सरकार भयो। यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन।’

उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए।

‘हामी अहिले सरकारमा जान चाहिरहेका छैनौं। यो सरकार हटाउने हो भने अर्काे त्यस्तो उपयुक्त विकल्प म देख्दिनँ। प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता, सामर्थ्य कांग्रेसमा मैले देख्या छैन,’ अध्यक्ष ओलीले भने।

आजदेखि विराटनगरमा एमालेको कोशी प्रदेश अधिवेशन हुँदैछ। अधिवेशन उद्घाटन गर्न उनी विराटनगर पुगेका हुन्।

आज उद्घाटन सत्र र अतिथिहरूको मन्तव्य राख्ने कार्यक्रम छ। अधिवेशन भोलिसम्म चल्नेछ।

अधिवेशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी, पर्यवेक्षक र केन्द्रीय नेताहरूको सहभागिता छ।