कोशीमा बजेट सम्बन्धी अध्यादेश दोस्रोपटक जारी, बजेट शून्यता अन्त्य

 कोशी प्रदेश     २४ भाद्र २०८०, आईतवार २२:२७     38 जनाले पढ़िसके



Spread the love

कोशीमा चालु आर्थिक वर्षका लागि पुनः अर्को बजेट सम्बन्धी अध्यादेश जारी गरिएको छ । अध्यादेश जारी भएसंगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको हो । यसअघि जारी गरिएको बजेटसम्बन्धी अध्यादेशको अघिल्लो सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसक्दा पहिलो पटक १३ दिनसम्म प्रदेश बजेट शून्यतामा रह्यो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेको प्रदेश प्रमुख कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले बताए । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएका एमाले नेता हिक्मतकुमार कार्कीले नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशमा बजेट शून्यता अन्त्यका लागि पुनः अर्को बजेटसम्बन्धी अध्यादेश जारीका लागि प्रदेश प्रमुख खापुङ समक्ष हिजो सिफारिस गरेको थियो ।

यसअघि कार्की नेतृत्वको सरकारले गरेको सिफारिसमा जेठ ३२ गते प्रदेश प्रमुख खापुङले संवैधानिक व्यवस्था अनुसार चालु आर्थिक वर्षका लागि पहिलो बजेटसम्बन्धी अध्यादेश जारी गर्नु भएको थियो । संविधानको धारा २०२ को उपधारा (१) मा प्रदेशसभा चलिरहेको अवस्थामाबाहेक प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्न सक्ने व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले पुनः अर्को बजेटसम्बन्धी अध्यादेश ल्याएका हुन ।

आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ का लागि यसअघि सार्वजनिक गरेको ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको वार्षिक आयव्यय अनुमान उल्लेखित बजेट ल्याएका हुन । जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुाजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयााको बजेट अनुमान छ ।