कोशीको मुख्यमन्त्रीमा एमाले दल नेता कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश

 कोशी प्रदेश     २१ भाद्र २०८०, बिहीबार २२:१६     57 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – सर्वाेच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

एमाले कोशी प्रदेशमा सबैभन्दा ठूलो दल हो । सर्वोच्चले कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत बदर गरेपछि उनी पदमुक्त भएका छन् ।

सभाध्यक्षता गरेका सांसद इस्रायल मन्सुरीले मतदानको समय सकिएपछि मतदान गरेर विश्वासको मत दिएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको छ ।

सर्वाेच्च अदालतको पूर्ण इजलाशमा न्यायाधीश सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीले रिटमाथि सुनुवाइ गरेका थिए ।

सर्वाेच्चले संविधानको एउटै विकल्पमा पटक–पटक नगई अर्काे विकल्पमा जानु उचित हुने देखिएकाले संविधानको धारा १६८ उपधारा (३) बमोजिम सबैभन्दा बढी सांसद भएको दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।