प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी सामाजिक न्याय र सुशासनको क्षेत्रमा जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
आज ‘जनतासँग माओवादी : विशेष रूपान्तरण’ तीन महिने अभियानको भर्चुअल उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा कैयौँ काम गरेको बताए ।
‘सरकारले इतिहासले नै सम्झिने गरी कयौँ साहसिक र जनपक्षीय कामहरू अगाडि बढाइरहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सृजना गरिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने ।
सरकारले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले सरकार र प्रणालीप्रति जनविश्वास बढ्दै गएको जिकिर गरे ।