माकुराको जालोमा भैँसी पर्दैन भन्ने यिनीहरूले बुझ्नुपर्छ ।’ , मैले एक एक कानुन हेरेर निर्णय गरेको छु : ओली

 एमाले     ७ भाद्र २०८०, बिहीबार १६:४२     48 जनाले पढ़िसके



Spread the love

देशमा अहिले ठूल्ठूला भ्रष्टाचारका काण्डहरू सतहमा आइरहेका छन् । यसैमध्ये झापाको गिरीबन्धु टि स्टेट्स प्रकरण पनि चर्चामा छ । संसदमै यो प्रकरणमा छानबिन हुनुपर्ने आवाज उठिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बिस्तारै यो काण्डमाथि पनि छानबिन हुने बताएका छन् ।

यो काण्डको तार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको छ । सट्टापट्टा गर्न प्रतिबन्ध लागेको गिरीबन्धु टि स्टेट्सको जग्गा ऐन संशोधन गरी खुला गरिएको यस प्रकरणमा उनको नाम मुछिएको हो । ओली सरकारका पालामा भूमि सुधार ऐन संशोधन गरिएको थियो । त्यतिबेला भूमि सुधारमन्त्री पनि एमालेकै नेतृ पद्मा अर्याल थिइन् ।

ओलीले यो काण्डको नाम नलिई आफूले कानुनअनुसार निर्णय गरेको भन्दै त्यसमा आफू नफस्ने टिप्पणी गरेका छन् । बिहीबार काठाडौंमा एमालेनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा ओलीले आफूले कानुन पल्टाइपल्टाइ फैसला र निर्णय गरेको बताएका छन् । उनले भनेका छन्, ‘मेरा काम कारबाहीहरू म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा, गृहमन्त्री हुँदा मेरा काम कारबाहीहरू एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइपल्टाइ फैसला गरेको छु । निर्णय गरेको छु । त्यसमा कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन । माकुराको जालोमा भैँसी पर्दैन भन्ने यिनीहरूले बुझ्नुपर्छ ।’

ओलीले आफूलाई पञ्चायतकालमा फसाएजस्तै गर्ने भए बेग्लै कुरा भएको भन्दै अहिले आफूले कानुनअनुसारै काम गरेको तर्क गरेका छन् । उनले भनेका छन्, ‘अब कसैकसैले छाप्न सक्छ, केपी ओलीलाई हत्कडी लायो, जेल भयो भनेर । कसैले मलाई गोली हान्न सक्छ आपत्ति छैन, तर मलाई पञ्चायतकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो । अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो ।’

उनले आफूलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ नभएको भन्दै आफू ढुक्क भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘झुटैमा जाने हो भने कानुुनले केपी ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन । राखेकै छैन । केपी ओली ढुक्कले भन्छ । मलाई थाहा छ विरोधीहरू छन्, तिनीहरूले सत्यका विरुद्ध काम गर्छन् । तिनीहरू हाम्राविरुद्ध आइलाग्न सक्छन् । म सचेत छु, कानुनी रूपमा पनि कतै एक शब्द नचिप्लियोस् ।’