राष्ट्रपतिको संसद खुलाउने प्रयास : शितल निवासमा सर्वदलीय बैठक बस्दै

 रास्ट्रपति     २०८०, ४ भाद्र सोमबार ०७:१९     107 जनाले पढ़िसके



Spread the love
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान साढे ८ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन्। लगातार संसद् अवरुद्ध भएपछि गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। उनका अनुसार बैठकमा संसद्मा सहभागी सबै दलका प्रतिनिधिलाई बोलाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।
साउन १० गते यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठक चल्न दिएको छैन। सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगर्ने अडान लिएको छ। एमालेले भने सत्तारुढ दलहरु नै प्रमुख विपक्षीको मागप्रति संवेदनशील नबनेकाले सरकार नै सदन खुलाउने विषयबाट भागेको आरोप लगाउँदै आएको छ।
यस अगाडि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसद् गतिरोध अन्त्य गर्ने विषयमा पहल गरिदिन आग्रह गरेका थिए। राष्ट्रपति पौडेलले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेका छन्।