मुस्ताङको कागबेनीमा बाढीले ३१ घर प्रभावित, स्थानीयलाई सेनाको टोलीद्दारा स्थानान्तरण

 बाढी पहिरो     २०८०, २९ श्रावण सोमबार १३:०३     193 जनाले पढ़िसके



Spread the love

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बजारमा बाढीले ३१ घर बगाएको छ।

कागखोलामा आइतबार बेलुका आएको बाढीले बजार पूरै जलमग्न भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए।

बाढीपछि स्थानीय बासिन्दालाई नेपाली सेना र अन्य सुरक्षाकर्मीले करिब ५०० मिटरमाथि सुरक्षित क्षेत्रमा सारेका छन्।

हालसम्म यो क्षेत्रमा बाढीले कागबेनी, लोमान्थाङ जाने एउटा पक्की पुल र एउटा काठेपुल बगाएको छ।

वारागुङ्ग मुक्तिक्षेत्र गाउपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको लेदोसहितको बाढीले हालसम्म मानवीय क्षति नभएको सेनाले जनाएको छ।

बाढीले कागबेनी बस्तीमा ३१ वटा घर तथा होटल बगाएको छ। यस्तै जोमसोम-कोरोला सडकको पक्की पुल, झोलुङ्गे पुल, २ वटा गाडी र ३ वटा विद्युतीय पोल बगाएको छ।

जोमसोमस्थित नारायणदल गणबाट बिहानैदेखि ४५ जनाको फौज त्यस क्षेत्रमा खटाइएको छ।

बाढीग्रस्त सबै क्षेत्रमा पुग्न कठिनाई भएका कारण एकिन तथ्यांक संकलन गर्न नसकिएको प्रवक्ता भण्डारीले बताए। तस्वीर : नेपाली सेना