विद्युत् प्राधिकरणको गत आ.व. को नाफा १२ अर्ब ३३ करोड रुपैयाँ, सर्वसाधारणलाई शेयर जारी गर्ने

 संवाददाता    २५ श्रावण २०८०, बिहीबार १७:४०     73 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

आज बिहीवार प्राधिकरणमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले गएको आर्थिक वर्षमा चुस्त व्यवस्थापनका कारण १२ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले गएकाे आर्थिक वर्ष देशभित्रै बिजुली बिक्रीबाट ८९ अर्ब ७८ करोड रुपैयाँ बराबर आम्दानी गरेको छ भने भारतलाई बिजुली बेचेर १० अर्ब ५९ करोड रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणको कुल आम्दानी अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १२ अर्ब रुपैयाँ बढी हो । आम्दानी बढे पनि खर्च बढ्दा गएकाे आर्थिक वर्षको नाफामा केही कमी आएको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले अब विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर जारी गर्ने जानकारी दिए । उहाँले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा शेयर जारी गर्ने फ्रक्रिया अघि बढाइएकाे बताउनुभयो । विद्युत् गुणस्तर सुधार, चुहावट नियन्त्रण तथा विद्युत् महसुल असुलीलगायतका कामलाई प्रभावकारी बनाउन काम भइरहेको उनको भनाइ छ ।