उत्तराखण्ड पहिरोमा परेका १३ नेपालीसहित १९ बेपत्ता मध्ये तीनजनाको शव भेटियो

 बाढी पहिरो     २० श्रावण २०८०, शनिबार ११:५९     91 जनाले पढ़िसके



Spread the love
काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् । बिहीबार रातिबाट परेको वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् ।
उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटेल पहिरोले बगाएको छ । पहिरोमा परी जुम्लाका १० र हुम्लाका तीन नेपाली बेपत्ता भएका हुन् । जुम्लाको पातारासी–३ चौरगाउँका एकै परिवारका सात, पातारासी–२ का तीन र हुम्लाका तीनसहित १३ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकामध्ये तीन नेपालीको शव भेटिएको भारतीय प्रहरीको भनाइ छ ।
पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, आठ वर्षीया छोरी पिंकी, सात वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र तीन वर्षीय छोरा वकिल बेपत्ता भएको बताए ।
गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । भारतीय प्रहरीले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ताको खोजतलास गर्नका लागि निर्देशन दिएको छ ।