माओवादी बैठकमा उठ्यो उपाध्यक्ष महरामाथि छानबिनको विषय

 #माओवादी     १९ श्रावण २०८०, शुक्रबार १७:०१     65 जनाले पढ़िसके



Spread the love
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद लेखनाथ दाहालले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि लागेको आरोप सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा धारणा राख्दै दाहालले यस सम्बन्धमा छानबिन नहुँदासम्म प्रश्न उठिरहने बताएका हुन् ।
‘सरकारले सुनकाण्ड छानबिनको जिम्मा सीआईबीलाई दिने भनेको छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘जबसम्म अनुसन्धान भएर क्लीन चिट पाउनुहुन्न, तबसम्म प्रश्न उठिरहन्छ भन्ने उहाँको कुरा थियो ।’
विद्युतीय चुरोट ‘भेप्स’मा ल्याइएको ९ केजी सुन प्रकरणका अभियुक्त चिनियाँ नागरिकसँग महराको ‘कनेक्सन’ देखिएको यसअघि नै सार्वजनिक भएको थियो ।
बैठकमा पूर्व सभामुख एवं पार्टी उपाध्यक्ष अग्नि सापकोटाले पार्टीमा कैयन समस्या रहेको भन्दै बैठकमा उठेका प्रश्नहरू जायज भएको बताए ।
‘पार्टीमा समस्या छन् । पार्टी भत्किएको छ । बिग्रिएको छ । बैठकमा उठेका प्रश्न जायज छन् । साझा प्रयत्नबाट रूपान्तरणमा जानुपर्छ,’ सापकोटाले भने ।
केन्द्रीय सदस्य एवं योङ कम्युनिस्ट लीग वाईसीएलका अध्यक्ष सुबोध श्रीपालीले पार्टीलाई गति दिन युवा र वयस्कलाई विभागीय जिम्मेवारी दिनुपर्ने बताए ।
‘ऊर्जाशील युवालाई जिम्मेवारी नदिँदा पार्टीले गति लिन सक्दैन । जिम्मेवारी पाए युवाहरू ०५२ सालको जस्तै ऊर्जा खर्चिन तयार छन्,’ श्रीपालीले बैठकमा भने ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी गंगा दाहाललाई सचिवालयमा राखेको विषयको भने उनले प्रतिरक्षा गरे ।
सचिवालयमा पारिवारिक सदस्य राख्नु सामान्य विषय भएकाले अन्यथा लिन नहुने उनको भनाइ थियो ।