कोशी प्रदेशमा कामचलाउ सरकार को भन्नेमा विवाद चर्किंदै

 संवाददाता    १३ श्रावण २०८०, शनिबार १४:२९     188 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कोशी प्रदेशमा कामचलाउ सरकारको विवाद चुलिँदै गएको छ ।

सर्वोच्चको आदेशपछि शुक्रबार साँझ एमाले नेता हिक्मतकुमार कार्कीको निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान फर्किएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कामचलाउ सरकारको मुख्यमन्त्री नतोकेकाले विवाद चुलिएको हो ।

यसले कोशी प्रदेश शुक्रबारदेखि सरकारविहीन अवस्थामा रहेको छ । एमाले नेता कार्कीले शुक्रबार साँझ आफ्नो निवासमा सुरक्षाका लागि आएका नेपाली सेनाको टुकडी शनिबार बिहान विराटनगरको कोशी परियोजनास्थित मुख्यमन्त्री निवासमा गएको जानकारी दिए  । उनले सर्वोच्चको फैसलामा स्पष्ट रुपमा जुन विन्दुबाट संविधान डिरेल भयो त्यही विन्दुमा फर्काएपछि आफू कामचलाउ सरकारको मुख्यमन्त्री भएको दाबी गरे । आदेश कार्यान्वयन गर्ने ठाउँमा रहेका प्रदेश प्रमुख र नेपाल सरकारले गरेन भने फेरि अदालतको ढोका ढकढक्याउनुको विकल्प नरहने कार्कीको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै खारेज भइसकेका मुख्यमन्त्री उद्धव थापालाई कामचलाउ मुख्यमन्त्रीका रूपमा काम गर्न विभिन्न ठाउँबाट दबाब दिन लगाइरहेको कार्कीको आरोप छ । कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको निर्णय सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार बदर गरिदिएपछि प्रदेश सरकारविहीन अवस्थामा पुगेको हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरे पनि कामचलाउ सरकारको विषयमा मौन देखिएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीको नाम उद्धव थापा नै उल्लेख छ ।