प्रधानमन्त्री ‘प्रचण्ड’ आज इटाली प्रस्थान गर्दै

 प्रधानमन्त्री     ६ श्रावण २०८०, शनिबार १०:२७     42 जनाले पढ़िसके



Spread the love

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गर्दै छन । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ ।

प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनुहुनेछ । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन । यसैगरी उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्ष लगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने र्कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारे समेत छलफल हुने कार्यक्रम छ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनकी छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता हुनेछ । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । फोटो : फाइल