बुढीगण्डकी आयोजना निर्माणको काममा ढिलाइ गर्ने छुट छैन : प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री     २०८०, ३ श्रावण बुधबार १५:०२     90 जनाले पढ़िसके



Spread the love

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी जलविद्युत आयोजनाको काम तीव्ररुपमा अघि बढ्ने बताएका छन्। बुधबार आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न गोरखाको सिउरेनीटार पुगेका प्रधानमन्त्रीले दाहालले आयोजना निर्माणमा ढिलाइ गर्ने छुट आफूलाई नभएको बताए।

‘हर हालतमा आयोजना निर्माण सम्पन्न गर्नुपर्छ, ‘उनले भने,’ ढिलाइ गर्ने छुट अब मलाई छैन।’

गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन्।

यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत् गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी र बागमती प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्री, मुख्यसचिव, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलगायत छन्।

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड बराबरको मुआब्जा वितरण गरिसकेको छ । घर गोठ,बोटबिरुवातर्फ छ अर्ब ७० करोड बराबरको मुआब्जा वितरण भइसकेको छ । हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजना अगाडि बढाउनका लागि प्रधानमन्त्री दाहालले चासो राख्दै आएका छन्।