कांग्रेस बैठक प्रत्यक्ष प्रसारणको तयारी

 काँग्रेस     २०८०, २ श्रावण मंगलवार ०८:५५     92 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ‘लाइभ’ (प्रत्यक्ष प्रसारण) गर्ने प्रस्ताव राखेका छन् । कुनै पनि राष्ट्रिय दलले आन्तरिक बैठक लाइभ नगरेका बेला देउवाले पहिलोपल्ट यस्तो प्रस्ताव अघि सार्नुलाई कतिपय नेताले रणनीतिक योजना भन्दै अर्थपूर्ण रूपमा लिएका छन् ।

कांग्रेसले प्रधानमन्त्री पाउँदा देउवाको विकल्प खोज्नुपर्ने र त्यसका लागि सके आफैं सर्ने र नसके अर्कोलाई सार्ने थापाले बताउँदै आएका छन् । ती पदाधिकारीका अनुसार नक्कली भुटानी शरणार्थीर् प्रकरणमा मुछिएका पार्टीका नेता बालकृष्ण खाणको प्रतिरक्षा गर्ने योजनालाई थापाको प्रतिवादले अप्ठ्यारो बनाइरहेको विषय पनि जोडिएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका खाणलाई निलम्बन गर्न सभापति देउवा तयार नभएपछि महामन्त्री थापाले जेठ २ मा विज्ञप्ति निकालेका थिए, जसमा खाण निलम्बन हुनुपर्ने भनिएको विषय देउवालाई पचेको थिएन ।

सोमबारको बैठकमा पनि देउवाले खाणलाई निलम्बन गर्न परम्पराले नदिने बताएका थिए । ‘खाण दोषी ठहर भइसकेका छैनन्, अभियुक्त मात्रै हुन्, उनलाई कारबाही गर्ने परम्परा पनि छैन, छलफल गर्न सकिन्छ तर निलम्बन गर्ने विषय नउठाऔं भन्ने नै सभापतिज्यूको धारणा रह्यो,’ बैठकपछि अर्का एक पदाधिकारीले भने, ‘खाणलाई निलम्बन गर्ने हो भने भ्रष्टाचार आरोपमै मुद्दा खेपिरहेका अर्का नेता विजयकुमार गच्छदारको हकमा के गर्ने भन्ने प्रश्न पनि छ ।’

महामन्त्रीद्वय थापा र शर्माले असार २१ र २२ मा जिल्ला सभापतिहरूको बैठक राखेकामा पनि देउवाले गम्भीर असन्तुष्टि जनाएका छन् । पार्टी सदस्यता व्यवस्थापनको मुद्दामा दुई महामन्त्रीले काठमाडौंमा बोलाएको जिल्ला सभापतिहरूको बैठकमा देउवा उपस्थित थिएनन् । यी सबै विषयलाई केन्द्रमा राखेर प्रतिरक्षा गर्ने र महामन्त्री थापाको भूमिकाप्रति संगठित रूपमा विरोध गर्ने रणनीति बनाएरै देउवाले बैठक लाइभ गर्ने प्रस्ताव अघि सारेको संस्थापन इतरपक्षीय नेताहरूको बुझाइ छ ।

‘पार्टीमा महामन्त्री थापाको एजेन्डालाई कमजोर बनाउने रणनीति सभापतिज्यूले बनाएको बुझिन्छ तर बैठक लाइभ गरेर महामन्त्रीलाई ठीक लगाउन खोज्दा सभापतिलाई नै अप्ठ्यारो पर्न सक्छ,’ संस्थापन इतर पक्षका एक नेताले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई जोगाउनुपर्छ भनेर बोल्दै गर्दा आम जनमानसले त्यसको हिसाबकिताब राख्न पाउँछन् ।’

संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्की भने बैठक लाइभ गर्ने सभापतिको प्रस्तावमा कुनै रणनीतिक उद्देश्य नभएको दाबी गर्छन् । ‘कांग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीले बैठकलाई पारदर्शी बनाइदिँदा गलत सूचना जाने सम्भावना रहँदैन । पार्टी र समाज लाभान्वित नै हुन्छ,’ उनले भने, ‘व्याख्या, अपव्याख्या गरेर गलत सूचना जानुभन्दा लाइभबाट सही सूचना जानु नै राम्रो हुनेछ ।’

सहमहामन्त्री बद्री पाण्डेका अनुसार सभापति देउवाले लाइभ नगरे पनि सबै कुरा बाहिरिने गरेको र बाहिरी मुलुकमा पनि राजनीतिक दलका बैठक लाइभ हुने गरेको उल्लेख गरेका थिए । ‘प्रायः सभापतिज्यूले कुनै रणनीतिक उद्देश्य नराखी नयाँ कुरा ल्याउनु हुन्न । बैठक लाइभ गर्ने कुरा के उद्देश्यले ल्याउनुभयो, थाहा भएन,’ पाण्डेले भने, ‘पार्टीका कतिपय बैठक गोप्य हुन्छन् । आचारसंहिता हुन्छ । पार्टीको बैठक लाइभ गर्दा राष्ट्रिय राजनीतिको मुद्दामा कति निष्कर्षमा पुग्न सकिन्छ, भन्न सकिन्न ।’ केन्द्रीय सदस्य प्रदीप पौडेल भने बैठक लाइभ गर्ने कुरालाई सकारात्मक रूपमा लिन्छन् । ‘पार्टी पनि सार्वजनिक संस्था नै हो । पारदर्शी ढंगबाट चल्नुपर्छ,’ उनले भने ।

आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ।