काठमाडौंको फोहोर व्यवस्थापनमा फेरि अवरोध, ५० वटा गाडी बञ्चरेडाँडामा रोकिए

 महानगर     १ श्रावण २०८०, सोमबार १६:३६     42 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि अवरोध गरिएको छ । पटक-पटक रोकिँदै आएको फोहोर व्यवस्थापन आजदेखि पुनः रोकिएको हो । फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

यसअघि काठमाडौँ महानगरपालिकासँग भएको सहमति कार्यन्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले आज उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो ।

सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको धुनीवेंसी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङ्कको भनाई छ ।

उनका अनुसार फोहोर र मानिससँगै बस्नै सक्दैन, कि फोहोरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्यो की उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहने उनले बताए ।

आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको हाे।

फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।

काठमाडौं महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भने यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहोर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।

विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो । कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ ।

यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरका अनुसार केन्द्रीय सरकारसँगको भएको सहमति कार्यान्वयनको माग राख्दै फोहोर व्यवस्थापनमा अवरोध गरेको हो । फोटो : फाइल