विवेकशील साझाद्वारा ‘गौरवमय सांस्कृतिक मानचित्र’ सार्वजनिक

 विवेकशील साझा पार्टी     २०८०, १६ असार शनिबार १०:४८     80 जनाले पढ़िसके



Spread the love

विवेकशील साझा पार्टीले ‘गौरवमय सांस्कृतिक मानचित्र’ भनेर नेपालको ऐतिहासिक भूभाग सहितको नक्सा सार्वजनिक गरेको छ।

ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी विवेकशील साझाले नक्सा सार्वजनिक गरेको हो। नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियान समेत चलाइने विवेकशील साझाले जनाएको छ।

विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले भनेका छन्, “अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ‘ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो।”

भारतले नयाँ संसद् भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर ‘अखण्ड भारत’को नयाँ नक्सा राखेको थियो। यसमा नेपाल सरकारले औपचारिक खण्डन नगरेको र कूटनीतिक नोटसमेत नपठाउनु विडम्वना भएको विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारले बताए। परियारले भने, “यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो।”

सुगौली सन्धी अगाडिको नेपालको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको उपाध्यक्ष परियारले बताए। यसमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेबिहारसम्मका पुरातात्विक महत्त्वका सम्पदा समेटिएको छ।त्यस्तै, मानसरोवरदेखि गंगा मैदान सम्मका धरोहरलाई नक्सांकन गरिएको छ।